Showing posts with label Nepali Poem. Show all posts
Showing posts with label Nepali Poem. Show all posts

Sunday, 3 May 2020

महामारी :: A Nepali Poem by Dhanmendra Upadhyay

May 03, 2020 0

 (एक)

विकराल सोरमा बजाउँदैछ सिट्ठी
मध्येरातको रित्तो रेल।
मर्दैछन्।मान्छे मर्दैछन्।
धेरै केकेजाति मर्दैछन।
अर्थका अहङ्कार मर्दैछन्।अस्त्रका हुङ्कार मर्दैछन्।
वजन नभएका प्रवचन मर्दैछन्।
मृत्यु सर्ने आतङ्कले परपर सर्दैछन् मान्छे।
शत्रु नचिनेर
शङ्काले तन्किदैछन् आँखा आफ्नै वरिपरि।
आमाबाबुले अँगालोहाल्न सकेका छैनन्
छोराछोरीलाई,पतिले पत्नीलाई।
एक्लिँदैछन् मान्छे आफ्नै घरभित्र।
सुनसान गाउँ सुनसान सहर साइरन बजाएर अलाप्तैछ अस्मिता।

(दुई)

मान्छेले आकाश उक्लन बनाएको बाटैबाटो
सुसेल्दै आयो महामारी
भत्काइदियो पुलहरू।
अहिले थामिएकाछन् मान्छे।दैलामा थामिएकाछन्।
तगारामा थामिएकाछन्।उड्दाउड्दै आकाशमा
गुड्दागुड्दै बसमा हिंड्दाहिंडदै बिच बाटोमा
थामिएकाछन् मान्छे।इलेक्ट्रोनिक रङ्गालयमा
महामारीको सीधा प्रसारण हेरेर, त्यसका पुच्छरमा झुन्डिएका विज्ञापन हेरेर, चाड हो कि बाढ हो ठम्याउन नसकेर
थामिएकाछन् मान्छे पुलुकपालाक गर्दै।

(तीन)

धेरै महामारी आए विचारका
विधानका धेरै महामारी आए
बाङ्गा-सोझा बाटा बनाउँदै
एक्लो पार्न मान्छेलाई निःसङ्ग पार्न
आदम-इभले जस्तै टेरेको थिएन मान्छेले पनि
तर हाय!यस्तो महामारी पनि आयो
स्वइच्छाले एक्लो भइदिनुपर्ने
विचरा सिसिफास मान्छे !

(चार)

यताउता हेर्छ मान्छे
आपतमा अभयको हात एउटा
परमेश्वरको। देख्तैन।
पिराहा पालेलाई साँचो बुझाएर
क्वारेन्टाइनमा स्रष्टा।आँखा चिम्लेर
कान थुनेर।निर्ढुक्क।
आत्मग्लानिको सन्नाटा छाएको
मन्दिर मस्जिदमा,गीर्जा गुरुद्वारामा।
राजा आफै दगुड्दैछ
आफैं गुहार्दैछ प्रजालाई
जनार्दन भन्दैछ जनतालाई
चिउँडामा हात लगाएर हेर्दैछ
जनताको सुख बेचेर किनेका अस्त्र
यत्रो युद्धमा पनि काम नलाग्ने अचल अस्त्र।
अशक्त राजा गुहार्दैछ प्रजालाई
नाङ्लो ठट्टाएर हात्ती धपाउन
गुहार्दैछ औंलो पोलेर उज्यालो पार्न घर।
बिचरा मान्छे
गरिदिन्छ सम्मोहित झैं जे भनो त्यै।
अनि फेरि वास्तवको मझेरीमा उभ्भिएर
यताउता हेर्छ
आँखाले भ्याउन्जेल
आपतमा अभयको हात एउटा........
टाडा कतै झिसमिसेमा देख्छ
उड्दैछन सेता पखेटा हरिया आँखा भएका देवदुतहरू
दिलोज्यान दिएर लडदैछन् शत्रुसँग
अर्वाचीन चरकहरू लडदैछन्
मृत्युको आगोमा फीनिक्स जन्मिने भरोसाले

(पाँच)

बिहानै उठेर नङ काट्तै रै'छे छोरी
'बाबु, नङ काट्नु नङ काट्नु
आफ्नै रगत मासु खाएर
नङ जस्तै बढ्छ महामारी
नङ काट्नु नङ काट्नु'

















धर्मेन्द्र उपाध्याय, लखिमपुर, असम
अध्यापक :: नाउवैचा कलेज

Recent